सखुवानन्कारकट्टी गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सिरहा जिल्लाको पूर्व मध्य भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस गाउँपालिका मिति २०७३ फागुन २२ गते सखुवानन्कारकट्टी (खैरवोना चौक) लाई केन्द्र राखी ५ वटा गा.वि.स.हरु मिलेर गाउँपालिकाको स्थापना गरिएको छ । साविका ५ गा.वि.स. हाल ५ वडा मौवाही, सोठिआईन, महदेवा पोर्ताहा, सखुवानन्कारकट्टी र ईटहर्वा वडामा विभाजन गरिएको हो । भौगोलिक हिसाबले ८६०३५’२” देखि ८६०३०’५६” पूर्वी देशान्तर र २६०३५’२४” देखि २६व०३९’४३” उत्तरी अक्षांशमा अवस्थित सखुवानन्कारकट्टी प्रदेश नं. २ क्षेत्र मध्ये एक हो । त्यसैगरी ३२.८५ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा सप्तरी जिल्ला, पश्चिमतिर लक्ष्मीपुर पतारी गाउँपालिका, दक्षिणमा नवराजपुर र भगवानपुर गाउँपालिका रहेको छ भने उत्तरमा लाहान नगरपालिका रहेका छन् । गाउँपालिकाको औषत अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस र औषत न्युनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको पाईन्छ । सिरहा जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा सखुवानन्कारकट्टी गाउँपालिका रहेको छ । यसका अतिरीक्त यहाँका सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी समेत यो गाउँपालिकाका दरिलो अनि दिगो विकासको श्रोतका रुपमा रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी यादव जाति ८,६४४ जना (४६.५८ प्रतिशत), दोस्रोमा मुसहर १६७८ (९.०४ प्रतिशत) र तेस्रोमा मुसलमान १,३५५ (७.३० प्रतिशत) हरुको बसोबास रहेको छ । तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । ओषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, उद्योग, नोकरी साथै विकल्पमा वैदेशिक रोजगारी हुन । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने २५ विद्यालय रहेका छन् । अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका÷नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केहि सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाव रहँदा योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, छठपर्व, माघि, होली, महाशिवरात्री, तीज, जनैपुर्णिमा, कृष्णजन्माष्टमी, बकरइद, रमजान, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।